अर्थमन्त्रीको वाग्लेका १०० दिनः नियमित कार्य सम्पादन, १५ कानून खारेजदेखि अर्बौँ घोटाला अनुसन्धानसम्म
गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीको विस्तृत लेखापरीक्षण पनि समेटियो
अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम १५ वटा कानुन खारेज गर्ने निर्णय गरेका थिए । जुन विषय अहिले मन्त्रिपरिषद्मा विचाराधिन छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १०० दिनमा गरेका कामहरुको फेहरिस्त अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अर्थमन्त्री वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक/कानूनी सुधारको मार्गचित्र तयार गरि यसअवधिमा भएका नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू प्रसारित गरिएको हो ।
अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम १५ वटा कानुन खारेज गर्ने निर्णय गरेका थिए । जुन विषय अहिले मन्त्रिपरिषद्मा विचाराधिन छ । त्यस्तै, राजस्व अनुसन्धान विभाग खारेज गरी संगठनको पुनर्संरचना गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ संशोधनमार्फत पुँजीगत रकम रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई प्रत्यायोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक ल्याइएको नियमित कामलाई पनि उपलब्त्रि भनेर व्याख्या गरिएको छ । भन्सार, आयकर, अन्तःशुल्क लगायतका नियमावलीहरूमा समयानुकूल संशोधन गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय र भन्सार विभागमा अनलाइन प्रणालीहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनुका सागै देशभरका १२० स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सहितको करदाता प्रमाणपत्र उपलब्ध गराउने काम अघि बढाईएको छ । बीमा र धितोपत्र क्षेत्रमा देखिएका ११० अर्ब रुपैयाँभन्दा बढीको वित्तीय घोटाला विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर अनुसन्धानलाई अघि बढाइएको छ भने ग्रे-लिष्टबाट नेपाललाई मुक्त गर्ने दिशामा हरसम्भव प्रयासहरू गरिएको छ ।
यसअवधिमा गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीको विस्तृत लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको विषय पनि अर्थमन्त्रीको १०० दिनको काममा समेटिएको छ । त्यसैगरि शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक सरलीकरण, डिजिटल रूपान्तरण, नेपाल सरकारबाट भएका द्विपक्षीय वा बहुपक्षीय सम्झौता र प्रभाव, आर्थिक सामाजिक पूर्वाधार, लगानी, रोजगारी सिर्जना नवप्रवर्तन तथा विकास व्यवस्थापनमा हासिल भएका नतिजा, सुशासन कायम गर्न गरिएका प्रयासहरु अर्थमन्त्री वाग्लेले आफ्ना उपलब्त्रि भनेर दावी गरेका छन् ।
अर्थ मन्त्रालयकाअनुसार अर्थमन्त्री वाग्लेले १०० दिनमा गरेका कामहरु