प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा सुब्बा र वाग्ले
सरकारी वकिलबाट पेशा सुरु गरेका कार्कीले न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका थिए । कार्कीले संसदीय सुनुवाइको सामना गर्दा भने रजिस्ट्रार पदबाट राजीनामा दिनुपर्ने छ ।
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै, परिषदले पूर्बप्रहरी नायव महानिरिक्षक (पूर्वडीआईजी) डा. राजीव सुब्बा र आयोगकै पूर्व उपन्यायाधीवक्ता गुरु वाग्लेलाई आयुक्तमा सिफारिस गरेको छ ।
सरकारी वकिलबाट पेशा सुरु गरेका कार्कीले न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका थिए । कार्कीले संसदीय सुनुवाइको सामना गर्दा भने रजिस्ट्रार पदबाट राजीनामा दिनुपर्ने छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका सुब्बा डीआईजी भएर अवकाश भएका थिए भने सूचना प्रविधि विषयमा अध्ययनरअध्यापन गर्ने वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधीवक्ता) हुन् । वाग्ले पछिल्लो समय मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध थिए ।
२ वर्षअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अवकाशसँगै नयाँ प्रमुख आयुक्त नियुक्त हुन नसक्दा रामप्रसाद भण्डारीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भएर गत २१ फागुनको निर्वाचन गराएका थिए । भण्डारी पनि अर्कोसाता ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् । प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको अवकाशपछि नयाँ आयुक्तहरू नियुक्त हुन सकेको थिएन ।
