बैंकिङ प्रणालीमा अधिक तरलता: नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार १९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँवा भुक्तानी २०८४ असार १९ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित चार दिनको अवधिमा कुल १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । असार १६ र १७ गते गरी ८० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिसकेको छ ।