पोखरामा ‘रोजगार मेला–२०२६’ हुँदै, युवालाई रोजगारी र करियर निर्माणको अवसर

विज्ञापन
ncell

सहभागीहरूले रोजगारदाता संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिन, पेशागत परामर्श प्राप्त गर्न, आफ्नो योग्यता तथा अनुभवअनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न सक्नेछन् ।

काठमाडौं । यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बुलौंदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो । मेलामा विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय कम्पनीहरूको सहभागिता रहनेछ। सहभागीहरूले रोजगारदाता संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिन, पेशागत परामर्श प्राप्त गर्न, आफ्नो योग्यता तथा अनुभवअनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न सक्नेछन् । मेलामा सहभागी हुन निःशुल्क प्रवेश व्यवस्था गरिएको छ । प्रचार सामग्रीमा बैंक, बीमा, इन्टरनेट सेवा, होटल, पर्यटन, अटोमोबाइल, डिजिटल सेवा, मनोरञ्जन तथा अन्य व्यावसायिक क्षेत्रका संस्थाहरू देखिएका छन् । ग्रोथ सेलर प्रा.लि का संस्थापक मोहन ओझाका अनुसार कम्पनीले विगत पाँच-दश वर्षदेखि देशका विभिन्न सहरमा कलेजहरूसँग सहकार्य गरेर रोजगार मेला सञ्चालन गर्दै आएको छ । पछिल्लो समय भने स्थानीय सरकार र उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै स्थानीय मानव स्रोतलाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

उनका अनुसार यसअघि चितवनमा चितवन उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकासँगको सहकार्यमा यस्तै रोजगार मेला आयोजना गरिएको थियो । त्यसअघि प्रदेश सरकारसँगको सहकार्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिएका थिए ।

पोखरामा आयोजना हुने रोजगार मेलामा ग्रोथ सेलरले रोजगारदाता कम्पनी र रोजगारी खोज्ने युवाबीच समन्वय गर्ने जिम्मेवारी लिएको छ भने कार्यक्रमको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्नेछ । स्थानीय निमन्त्रणा, समन्वय तथा अन्य प्रशासनिक व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने ओझाले बताए ।

उनका अनुसार यसपटक रोजगार मेलामा करिब ५१-५२ वटा कम्पनीको सहभागिता रहनेछ । हालसम्म एक हजारभन्दा बढी रोजगार खोज्ने युवाले पूर्वदर्ता गरिसकेका छन् । कार्यक्रममा चारदेखि पाँच हजारसम्म युवाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

चितवनमा सम्पन्न यस्तै रोजगार मेलामा करिब ३०० जना अन्तिम छनोट सूचीमा परेका थिए भने १२७ जनाले रोजगारीको अवसर पाएका थिए । यसपटक सहभागी कम्पनीको संख्या बढेकाले थप युवाले रोजगारीको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको ओझाको भनाइ छ ।

उनले रोजगार मेला तत्काल रोजगारी दिलाउने माध्यम मात्र नभई स्वदेशमै रोजगारीका अवसर उपलब्ध छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने अभियानसमेत भएको बताए । आज हुने रोजगार मेला बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । चालु आर्थिक वर्षका लागि यो अन्तिम रोजगार मेला रहेको र आगामी आर्थिक वर्षमा पुनः वैशाख-जेठ महिनातिर यस्ता कार्यक्रम आयोजना गर्ने तयारी रहेको संस्थापक ओझाले जानकारी दिए ।