जुन महिनामा भित्रिए ९१ हजार ३६३ पर्यटक, सार्क राष्ट्रकै ५२.८ प्रतिशत हिस्सा
पर्यटक आगमनमा १९.५ प्रतिशतको बृद्धि, कुल पर्यटकमा अमेरिकीको हिस्सा १२.९५ प्रतिशत
छिमेकी मुलुक चीनबाट ९ हजार ९९५ पर्यटक नेपाल आउँदा युरोपबाट ६ हजार ९५४ जना नेपाल भ्रमणमा आएका छन् ।
काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशतले बढेको हो । गत वर्ष जुनमा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट छन् । सार्क राष्ट्र बाट जुन महिनामा ४८ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका हुन् । जुन कुल हवाई पर्यटकमध्ये ५२.८ प्रतिशत हो । यसअवधिमा भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यसपछि अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो । उता, छिमेकी मुलुक चीनबाट ९ हजार ९९५ पर्यटक नेपाल आउँदा युरोपबाट ६ हजार ९५४ जना नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५ सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल भित्रिएको तथ्यांक एनटीबीसँग छ । यस अवधिमा क्यानडाबाट १ हजार ११, जापानबाट ९२५ , दक्षिण कोरियाबाट ९१४, थाइल्यान्डबाट ५१४ र ब्राजिलबाट १०४ पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, ओसियानिया क्षेत्रबाट यो जुनमा ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ५६.३५ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्यूजिल्यान्डबाट १९४ पर्यटक आएका छन् । अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल भित्रिएका छन् । त्यसअघि कोभिड-१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक नेपाल भित्रिएका थिए ।
पछिल्लो समय एनटीबीले पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
