आलुमा साङ्ला भेटिएपछि झम्सिखेलको अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।

काठमाडौं । ललितपुरको झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, पुन प्रयोगको लागि राखिएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।