बागमतीका सवारी चालकलाई महङ्गो शुल्क, लाईसेन्स लिन र नबिकरणमा दोब्बर मूल्य, कुन वर्गलाई कति ?

लाइसेन्सको वैधता अवधि १० वर्ष कायम

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सबै प्रक्रियाको शुल्क शतप्रतिशत (दोब्बर) ले बढाएको हो ।

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिँदा वा नबीकरण गर्दा अबदेखी महङ्गो शुल्क तिर्नुपर्ने भएको छ । नयाँ लाइसेन्सको आवेदनदेखि, नवीकरण र वर्ग स्तरोन्नति गर्न चाहने चालक (सेवाग्राही) का लागि आगामी आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक भार थपनिे भएको छ ।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सबै प्रक्रियाको शुल्क शतप्रतिशत (दोब्बर) ले बढाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि आवेदन दिँदा ५०० रुपैयाँका सट्टा १ हजार रुपैयाँ तिर्नुपर्ने छ । 

यस्तै मोटरसाइकल, स्कुटर (ए वर्ग) तर्फ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ । कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) तर्फ २ हजारबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ । त्यसैगरि ट्रयाक्टर (ई वर्ग) र मिनीबस र मिनी ट्रक (एफ वर्ग) तर्फ २ हजार ५ सयबाट बढाएर ५ हजार रुपैयाँ पुर्याइएको छ । जी, एच, आई र जे वर्ग (ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर, ग्रेडर) को पनि ३ हजारबाट बढाएर ६ हजार रुपैयाँ बनाइएको छ । 

त्यसैगरि आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरूका हकमा पनि शुल्क बढाइएको छ । ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा १ हजारबाट २ हजार रुपैयाँ बनाइएको छ । शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि लाइसेन्सको वैधता अवधि भने १० वर्ष कायम गरिएको छ ।