सातौ दिन घट्यो सेयर बजार: नेप्से २६ सय नजिक हुँदा सवा ३ अर्बमा सीमित कारोबार, ६ महिनाकै तल्लो बिन्दु

मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको छ । मंगलबार नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौँ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार सातौ दिन नेप्से घटेर बन्द भएको छ । मंगलबार नेप्से सूचक २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको छ । मंगलबारको सूचकसँगै सेयर नेप्से ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ । पुस ९ गते नेप्से २५८५ .८७ अंकमा थियो ।

लगातार घटिरहेको बजारतर्फ सरकारको ध्यान नजाँदा लगानीकर्ताहरु भने थप मर्माहत बन्दै गएका छन् । निर्वाचनअघि बढेको बजार निर्वाचन सकिएर सरकार बनेको १०० दिन पुगिरहँदा र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएर कार्यान्वयनमा जाने तयारी भईरहँदा पनि नेप्सेमा सुधारको कुनै गुञ्जायस देखिएको छैन । 

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक घटेको छ । यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।७४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल २ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज स्नो रिभर्स लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ । कारोबारमा आएको टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक १४.०३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १३ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब साढे ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।