३५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोलमार्फत ब्याजदर तय
आज विक्री हुने ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यो ऋणपत्र राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्न लागेको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् ।
आज मध्याह्न ३ बजेसम्म ऋणपत्रकालागि अनलाइनबाट बोलकबोल गर्न सकिने छ । एकवर्षे अवधिको ऋणपत्रको बोलकबोलका माध्यमबाटै ब्याजदर निर्धारण हुनेछ । आज विक्री हुने ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । यो ऋणपत्र राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।