१२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित बजेट : अर्थमन्त्री वाग्ले
विभिन्न मन्त्रालयका फाइल अर्थ मन्त्रालयमा घुमाउनुपर्ने पुरानो अभ्यास अन्त्य गर्दै रकमान्तरसहितका धेरै अधिकार सम्बन्धित मन्त्रालयलाई नै हस्तान्तरण गरिएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक वर्ष २०८३र८४ का लागि ल्याएको बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित रहेको दाबी गरेका छन् ।
आगामी बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको २८.५ प्रतिशत मात्र रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले १२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित बजेट भएको दावी गरे । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बजेट कार्यान्वयनका विषयमा कुनै आशंका नपाल्न पनि सांसदहरुलाई आग्रह गरे ।
विभिन्न मन्त्रालयका फाइल अर्थ मन्त्रालयमा घुमाउनुपर्ने पुरानो अभ्यास अन्त्य गर्दै रकमान्तरसहितका धेरै अधिकार सम्बन्धित मन्त्रालयलाई नै हस्तान्तरण गरिएको भन्दै अर्थमन्त्री वाग्लेले गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकरण गरिएको बताए । शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर आमनागरिकको दीर्घकालीन हितलाई ध्यानमा राखेर तय गरिएको अर्थमन्त्री वाग्लेको कथन छ ।
यसैबीच, राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बस्ने तय भएको छ ।