एमालेद्वारा संसदमा विष्णु पौडेल पक्राउको कारण खोज्दै रिहाईको माग
आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र एमालेलाई बदनाम गराउन पौडेललाई पक्राउ गरिएको कंडेलको भनाई छ ।
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउको कारण खोज्दै रिहाईको माग गरेको छ । एमाले सांसद प्रा.डा.पुष्पराज कँडेलले पार्टीका तर्फबाट प्रतिनिधिसभामा पौडेले पक्राउ पर्नुको कारण मागेका हुन् ।
सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई असार ८ गते पार्टी कामको सिलासिलामा सुर्खेतमा रहेका बेला पक्राउ गरेको थियो । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा अोली माथि लगाइएको आरोपको अर्को रुप पौडेल पक्राउ प्रकरण भएको बताए । आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र एमालेलाई बदनाम गराउन पौडेललाई पक्राउ गरिएको कंडेलले बताए । पौडेल पटक पटक उपप्रधान तथा अर्थमन्त्री र मन्त्री भएका व्यक्ति हुन् ।
‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गरेको हो। गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले पक्राउ गरिएको छ,’ कँडेलले भने, ‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमथि प्रतिसोध साँधिएको छ ।’