४४६ गाउँपालिकाले ल्याए १० असारभित्र बजेट, तीन प्रतिशतको बाँकी
गाउँपालिका राष्ट्रिय महासंघका अनुसार १४ वटा गाउँपालिकाले तोकिएको समयभित्र गाउँसभामा बजेट पेश गर्न सकेनन् । असार १० भित्र बजेट ल्याउने गाउँपालिकाको संख्या ९७ प्रतिशत हुन आउँछ ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४४६ गाउँपालिकाहरु समयमै बजेट ल्याएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार ४४६ वटा गाउँपालिकाले १० असारभित्र गाउँसभामा बजेट पेश गरेका हुन् ।
देशभरि ४६० गाउँपालिका छन् । समयमै बजेट ल्याउने गाउँपालिकाको संख्या ९७ प्रतिशत पुगेको छ । महासंघकाअनुसार अझै १४ अर्थात् ३ प्रतिशत गाउँपालिकाले बजेट ल्याएका छैनन् । गण्डकी प्रदेशका सबै सबै गाउँपालिका बजेट ल्याउँदा ६ प्रदेशमामा १ देखी ३ गाउँपालिकासम्मले बजेट ल्याएका छैनन् । महासंघका अनुसार कोशी प्रदेशमा ८८ गाउँपालिकामध्ये ३, मधेशमा ५९ मध्ये ३, बागमतीमा ७३ मध्ये १, लुम्बिनीमा ७३ मध्ये ३, सुदूरपश्चिम र कर्णालीका ५४/५४ मध्ये २/२ वटा गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । पालिकाहरुले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले १५ जेठमा बजेट ल्याउनुपर्ने प्रावधान छ भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७४ अनुसार प्रदेशको बजेट १ असार र स्थानीय सरकारहरुको बजेट १० असार भित्र सम्बन्धित सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ संविधान जारी भएसँगै स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिको यो पाँचौं अर्थातः अन्तिम वर्ष हो । त्यसैले यो वर्षको नीति तथा कार्यक्रम र बजेट नै उनीहरुका लागि अन्तिम हो ।
गाउँपालिका महासंघले तयारी नपुगेको, अध्यक्ष अस्वस्थ भएको, अध्यक्षको परिवारका सदस्य बिरामी हुँदा जिल्ला बाहिर रहेका, प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको, बजेट निर्माणमा सहमती नजुटेको जस्ता कारण देखाएर ति गाउँपालिकाहरुले १० असारभित्र बजेट पेश गर्न नसकेको कारण पेश गरेको छ । तोकिएको समयमा बजेट ल्याउन नसकेमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट हुने कार्य सम्पादन मूल्यांकन मापनमा असर पर्ने बताईन्छ ।