भारतीय पर्यटकको बढ्दो आकर्षणले ‘अफ सिजन’मै भरिभराउ पोखरा, यसलाई दिगो बनाउन आवश्यक
अहिले पोखरामा पर्यटकको संख्या मात्र होइन, पर्यटनको गुणस्तर पनि बढ्दै गएको अनुभव भइरहेको छ । भारतीय पर्यटकसँगै युरोप लगायत विभिन्न देशबाट पनि पर्यटक आगमन बढिरहेको छ । यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान अझ बलियो बन्दै गएको संकेत गर्छ ।
नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये पोखरा अग्रस्थानमा पर्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि सधैं आकर्षणको केन्द्र रहँदै आएको छ । यतिबेला पोखरामा विशेषगरी भारतीय पर्यटकको उल्लेख्य वृद्धि देखिएको छ । सामान्यतया यो समय पर्यटनको ‘अफ सिजन’ मानिने भए पनि भारतीय पर्यटकको बाक्लो उपस्थितिले पोखरा लगायतका प्रमुख पर्यटकीय क्षेत्रहरू भरिभराउ बनेका छन् ।
म स्वयं लेकसाइडमै जन्मिएर हुर्किएको व्यक्ति हुँ । विगतका वर्षहरूमा पनि पर्यटकको चहलपहल देखेको छु, तर यस वर्ष जति भारतीय पर्यटकको ओइरो लागेको दृश्य भने मैले यसअघि कहिल्यै देखेको थिइनँ । गत वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ ।
भारतीय पर्यटकको आगमन बढ्नुका पछाडि विभिन्न कारण छन् । पहिलो, सामाजिक सञ्जालको प्रभाव निकै ठूलो देखिएको छ । नेपाल भ्रमण गरेर फर्किएका भारतीय पर्यटकहरूले यहाँका तस्बिर र भिडियोहरू आफ्ना सामाजिक सञ्जालमार्फत व्यापक रूपमा साझा गरेका छन् । यसले नेपाल र विशेषगरी पोखराको प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
दोस्रो, भारतीय पर्यटकहरू आफ्नै सवारी साधन लिएर सहज रूपमा स्थलमार्ग हुँदै पोखरा आउन सक्छन् । यात्राको सहजताले पनि उनीहरूको संख्या बढाउन मद्दत गरेको छ । अर्को महत्वपूर्ण कारण भारत सरकारले विदेश भ्रमणमा हुने डलर खर्चमा कडाइ गर्नु हो । नेपाल भ्रमण गर्दा भारतीय पर्यटकलाई डलर खर्च गर्नुपर्दैन र भारतीय मुद्रा नै प्रयोग गर्न सकिने भएकाले उनीहरूका लागि नेपाल अझ आकर्षक गन्तव्य बनेको छ ।
यसका साथै भारतमा यतिबेला गर्मी महिनाको बिदा चलिरहेको छ । आफ्ना परिवार र बालबच्चासहित गर्मी छल्न भारतीयहरू पोखरासहित नेपालका विभिन्न गन्तव्यमा आउने क्रम बढेको देखिन्छ । यो नेपालको पर्यटन क्षेत्रका लागि सुखद पक्ष हो ।
अहिले पोखरामा पर्यटकको संख्या मात्र होइन, पर्यटनको गुणस्तर पनि बढ्दै गएको अनुभव भइरहेको छ । भारतीय पर्यटकसँगै युरोप लगायत विभिन्न देशबाट पनि पर्यटक आगमन बढिरहेको छ । यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान अझ बलियो बन्दै गएको संकेत गर्छ ।
पछिल्ला केही दिनयता पोखराका होटलहरू भरिभराउ भएका छन् । कतिपय अवस्थामा होटलमा कोठा नपाएर पर्यटक तथा समूहका सदस्यहरू समस्यामा समेत परेका छन् । धेरै होटलले सबै कोठा अग्रिम रूपमा बुक भइसकेको जानकारी दिँदै नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन नसकेको अवस्था छ । यसले पर्यटन गतिविधि बढेको स्पष्ट संकेत गर्दछ ।
अब हामी कृषि पर्यटनलाई नयाँ र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयासमा छौँ । यसका लागि विभिन्न अध्ययन तथा अनुसन्धान गरिरहेका छौँ । भारत लगायतका देशमा सफल भएका अभ्यासहरूको अध्ययन गरी नेपालमा लागू गर्न सकिने सम्भावनाको खोजी भइरहेको छ । नेपालका नयाँ-नयाँ गन्तव्य पहिचान गरी पर्यटकलाई बस्न, घुम्न र स्थानीय जीवनशैली अनुभव गर्न सक्ने वातावरण निर्माण गर्ने हाम्रो लक्ष्य हो ।
कृषि पर्यटनले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्ने तथा ग्रामीण क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसलाई प्रभावकारी बनाउन आवश्यक प्रविधि, पूर्वाधार र व्यवस्थापन प्रणालीका विषयमा पनि छलफल भइरहेको छ ।
अहिले नेपालको पर्यटन क्षेत्रमा धेरै अवसरहरू देखिएका छन् । कुनै पनि योजना वा नीति कार्यान्वयन गर्दा सबै पक्षलाई सहज हुने गरी अगाडि बढ्नुपर्छ । त्यसका लागि सम्बन्धित निकाय, व्यवसायी र स्थानीय समुदाय सबै सचेत र जिम्मेवार हुन आवश्यक छ । पोखराको पर्यटन क्षेत्र अहिले निकै चलायमान र उत्साहजनक अवस्थामा छ । सरकारले ल्याएका पर्यटन विकाससम्बन्धी नीति तथा कार्यक्रमहरूको सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।
पोखरालाई अझ व्यवस्थित, आकर्षक र दिगो पर्यटन गन्तव्य बनाउन स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच बलियो सहकार्य आवश्यक छ । साथै, हप्तामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पारेको छ । यसले पोखराको पर्यटन गतिविधिलाई थप जीवन्त बनाएको छ । पोखराको पर्यटनमा देखिएको यो उत्साहजनक वृद्धि दिगो रूपमा कायम राख्न सके पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्न सक्ने पर्याप्त सम्भावना छ ।
