भारतबाट उद्दार गरिएका ४५३ नेपाली रूपन्देही प्रहरी कार्यालयमा, अनुसन्धान जारी
प्रारम्भिक अनुसन्धानमा उद्दार गरिएकामध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइ बन्धक बनाइएको देखिएको छ
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्दार गरिएका चार सय ५३ नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भारतबाट ल्याईएका सबै नेपालीहरु प्रहरी कार्यालयमा सुरक्षित जनाएको छ । उद्दार गरिएका नेपालीलाई आठ वटा भारतीय बसमार्फत् शनिबार मध्यान्ह सुनौली-बेलहिया नाका हुँदै भैरहवा ल्याइएको थियो । उद्दार गरिएकामध्ये करिब आधा महिला छन् । प्रहरीले ति व्यक्ति कसरी भारतमा अलपत्र परे भन्ने विषयमा अनुसन्धान गरिरहेको र त्यसका लागि विवरण सङ्कलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको छ । आकर्षक जागिर र उच्च आम्दानीको प्रलोभनमा पारेर नेटवर्किङ व्यवसायको नाममा भारत पुर्याइएको हुनसक्ने प्रहरी अनुमान छ ।
प्रहरीका अनुसार गिरोहले नेपालका विभिन्न जिल्लाबाट युवायुवतीलाई आकर्षक जागिर र राम्रो आम्दानीको प्रलोभनमा सुनौली हुँदै कुशीनगर पुर्याउने गरेका थिए । तर, त्यहाँ पुगेपछि प्रतिव्यक्ति सात हजार भारतीय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म रकम असुल गरी नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गराउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा उद्दार गरिएकामध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइ बन्धक बनाइएको देखिएको छ । अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने र घटनामा संलग्न व्यक्तिमाथि थप कानुनी कारबाही अघि बढाइने प्रहीले जनाएको छ ।
पीडितका आफन्तले बन्धक बनाएर रकम मागिएको भन्दै उजुरी दिएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी उद्धार अभियान चलाएको हो । प्रहरीले चार दिनको निरन्तर प्रयासपछि भारतीय प्रशासन र प्रहरीको सहयोगमा उद्दार कार्य सफल भएको र सदस्यता शुल्कका नाममा रकम असुल्ने, नयाँ सदस्य थप्न दबाब दिने तथा सदस्य बन्न नसकेका व्यक्तिका परिवारलाई समेत धम्की दिएर रकम उठाउने प्रयास भएको सूचना आफूहरुसँा आईपुगेको जनाएको छ ।