घरजग्गा कारोबारमा मौसमी उतारचढाव, बढी कारोबार मधेशमा, महँगो जग्गा बागमतीमा
केन्द्रिय बैंकको विश्लेषणका अनुसार नेपालको घरजग्गा कारोबारमा मौसमी प्रभाव देखिएको छ । वर्षको पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमास (फागुनदेखि असारसम्म) मा कारोबार उच्च हुने प्रवृत्ति देखिएको ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल इस्टेट (घरजग्गा) कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक प्रकाशन गर्न सुरु गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर यो नयाँ अभ्यासको थालनी गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंक आफैँले सङ्कलन गर्ने तथ्याङ्कलाई एकीकृत गरी यो प्रतिवेदन तयार पारिने जनाएको छ ।
केन्द्रिय बैंकको विश्लेषणका अनुसार नेपालको घरजग्गा कारोबारमा मौसमी प्रभाव देखिएको छ । वर्षको पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमास (फागुनदेखि असारसम्म) मा कारोबार उच्च हुने प्रवृत्ति देखिएको ।
प्रदेशगत रूपमा कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार भएको देखिएको छ । त्यस्तै, कारोबार भएको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ ।
जग्गाको क्षेत्रफलअनुसार कारोबारको विश्लेषण गर्दा मधेश बाहेक अधिकांश प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका कित्तामा बढी कारोबार भएको देखिएको छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला कित्तामा बढी कारोबार हुने गरेको तथ्यांकले देखाएको छ । मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका जग्गामा सबैभन्दा बढी कारोबार भएको पाइएको छ । घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
यसैगरी, घरजग्गा कारोबारबाट प्राप्त हुने सरकारी राजस्वमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो । पछिल्ला वर्षहरूमा भने क्रमशः सुधार हुँदै आर्थिक वर्ष २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।
यो तथ्याङ्कले रियल इस्टेट क्षेत्रको वास्तविक गतिविधि आकलन गर्न सहयोग पुग्ने केन्द्रिय बैंकले जानकारी दिएको छ । यसैका आधारमा आगामी दिनमा ‘घरजग्गा मूल्य सूचकाङ्क’ निर्माण र प्रकाशन गर्ने तयारीसमेत भइरहेको उल्लेख छ ।