सेयर बजारमा ४८.७१ अंकको वृद्धि, ९ अर्ब ९१ करोडको कारोबार
बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.७१ अंकले बढेर २८५१.२४ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।
काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.७१ अंकले बढेर २८५१.२४ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३३८ कम्पनीको १ लाख ८ हजार ८६९ पटकको कारोबारमा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो ।
आज ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ६.७४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने १ को स्थिर रह्यो ।