डिसहोमको कर्मचारी भन्दै २९ लाखभन्दा बढी ठगी गर्ने तीन जना व्यक्ति पक्राउ
प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ ।
काठमाडौं । डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका-३ बस्ने दोलखा घर भएका २२ वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।
काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी केहि समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षको रिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमा पारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ । अहिलेसम्म सात जना पीडितहरूले मात्र कार्यालयमा औपचारिक निवेदन दिएका छन् भने अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम जारी छ। आरतीको आफ्नै नम्बरबाट ८६ वटा डिसहोम अकाउन्टहरू खोलिएको समेत प्रहरीले पत्ता लगाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।