७ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द
मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई परिपत्र गर्दै यस्ता अवैध एप र यूआरएलहरू ब्लक गर्न निर्देशन दिएको हो ।
काठमाडौं । ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) सँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई परिपत्र गर्दै यस्ता अवैध एप र यूआरएलहरू ब्लक गर्न निर्देशन दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले चैत १५ गते दिएको निर्देशन र गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय (बुँदा नं. ४२) बमोजिम यो प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले अनलाइन सट्टेबाजीलाई निरुत्साहित गर्न ‘२४ घण्टाभित्र बन्द गर्ने’ नीति अख्तियार गरेको छ । सोही नीति अनुसार, पछिल्लो एक सातामा मात्रै ५० भन्दा बढी उजुरी र गुनासोहरू प्राप्त भएको र ती सबैलाई तत्काल सम्बोधन गरी सम्बन्धित लिंकहरू बन्द गरिएको मन्त्रालयले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा १० हजारसम्म जरिवाना हुनेछ ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा एक वर्षसम्म कैद तथा १० हजारसम्म जरिवाना हुनेछ । सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ । अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ ।