सार्वजनिक बिदाको दिन पनि अब हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

विज्ञापन
ncell

हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया थालेको हो ।

काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया थालेको हो ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने व्यवस्था मिलाउन लागेको हो ।

त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए ।

त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार ७०० हाराहारी छ, जसबाट २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।