कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

विज्ञापन
ncell

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए ।

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए ।

नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत ४ गते कम्बोडियाबाट उडेर चैत ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

राजदूतावासका अनुसार अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको छ । कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको तथा भिसा बिना वा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाइएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्कन सहजीकरणका लागि राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ ।

कतिपय पीडितको राहदानी कम्पनीले जफत गरेको वा हराएको गुनासो पनि आएको र यस्तो अवस्थामा राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरी उद्धार गर्ने व्यवस्था मिलाउँदै आएको जनाएको छ ।

तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिन्छ । सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपाली सन् २०२५ मा बढेर ९ हजार ६७६ पुगेका छन् ।

राजदूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै कमाइ हुने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा नजान पुनः आग्रह गरेको छ ।