२१.६२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

आज नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो । आज ३२८ स्टकको ४९ हजार ९३ पटकको कारोबारमा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँबराबरको ९३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज मंगलबार पनि बढेको छ। आज नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो । 

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको ४९ हजार ९३ पटकको कारोबारमा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँबराबरको ९३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढको छ भने सागर डिष्टिलरीको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

मंगलबार कारोबारमा आएकामध्ये २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।