विश्व अर्थतन्त्रका १० उदयीमान र दीर्घकालिन क्षेत्रः जहाँ छन् रोजगारी र नाफाका प्रचुर सम्भावना
काठमाडौँ । विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ, र यससँगै अर्थतन्त्रका आयामहरू पनि फेरिँदै छन्। परम्परागत उद्योगहरूको सट्टा अहिले प्रविधि, स्वास्थ्य र हरित ऊर्जाजस्ता क्षेत्रहरूले विश्व बजारमा कब्जा जमाउन थालेका छन्।
पछिल्ला वर्षहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जुन छलाङ मारेको छ, त्यसले लगानीकर्ता र रोजगारदाता दुवैको ध्यान खिचेको छ। ‘मार्केट्स एण्ड मार्केट्स’को प्रक्षेपण अनुसार सन् २०२७ सम्ममा एआई बजार ४०७ अर्ब डलर पुग्नेछ। तर, अवसर एआईमा मात्र सीमित छैन। स्वास्थ्य सेवा, पर्यटन, अनलाइन व्यापार र हरित ऊर्जाले पनि अर्थतन्त्रलाई नयाँ दिशा दिइरहेका छन्।
अमेरिकी ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्कलाई आधार मान्दा सन् २०२४ र त्यसपछिका वर्षहरूमा विश्व अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख १० क्षेत्रहरू यस प्रकार छन्:
आर्टिफिसियल इन्टेलिजेन्स (एआई): भविष्यको सारथी
अहिले विश्व अर्थतन्त्रको भविष्य आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अडिएको छ भन्दा फरक पर्दैन। स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययन अनुसार, सन् २०२३ मा मात्रै जेनेरेटिभ एआई परियोजनाहरूमा २५ अर्ब डलरभन्दा बढी लगानी भएको छ। अटोमेसन, डाटा विश्लेषण र भविष्यवाण गर्न सक्ने क्षमताका कारण एआईले स्वास्थ्य, वित्त र यातायात क्षेत्रको मुहार फेरिदिएको छ। यस क्षेत्रमा पाइथन प्रोग्रामर, डाटा एनालिस्ट र सफ्टवेयर इन्जिनियरहरूको माग उच्च छ।
स्वास्थ्य सेवा: कहिल्यै नसुक्ने क्षेत्र
मानिसको औसत आयु बढ्दै जाँदा र जनसङ्ख्या वृद्धि भएसँगै स्वास्थ्य सेवाको माग ह्वात्तै बढेको छ। अमेरिकामा आगामी दशकमा थपिने कुल रोजगारीमध्ये ४५ प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रले ओगट्ने प्रक्षेपण गरिएको छ। विशेषगरी अस्पतालहरूमा डाक्टर र नर्सका साथै होम केयर (घरेलु स्याहार) र मेडिकल व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता देखिएको छ।
सूचना प्रविधि र साइबर सुरक्षा: डिजिटल युगको कवच
वर्क-फ्रम-होम (घरबाटै काम) र हाइब्रिड मोडेलको विकाससँगै डिजिटल सुरक्षा अनिवार्य भएको छ। सन् २०२३ मा साइबर अपराधका कारण विश्वले ८ ट्रिलियन डलर गुमाउनु परेको तथ्याङ्कले साइबर सुरक्षाको महत्त्वलाई प्रष्ट पार्छ। ह्याकरहरूबाट डाटा जोगाउन र सुरक्षित प्रणाली निर्माण गर्न साइबर सुरक्षा विश्लेषक र आईटी विज्ञहरूको माग तीव्र गतिमा बढिरहेको छ।
हरित ऊर्जा (ग्रिन इनर्जी): वातावरणसँगै आम्दानी
जलवायु परिवर्तनको असर कम गर्न विश्वभर स्वच्छ ऊर्जाको प्रयोग बढ्दो छ। सन् २०२३ मा विश्वको जीडीपी वृद्धिमा १० प्रतिशत योगदान स्वच्छ ऊर्जाको थियो। सोलार प्यानल जडान, टर्बाइन निर्माण र विद्युतीय सवारीसाधनको उत्पादनले इन्जिनियर र प्राविधिकहरूका लागि रोजगारीका नयाँ ढोकाहरू खोलेको छ।
ई-कमर्स (अनलाइन रिटेल): किनमेलको नयाँ बानी
उपभोक्ताहरू पसल धाउनुको सट्टा मोबाइलबाटै किनमेल गर्न रुचाउन थालेका छन्। अमेजन र वालमार्ट जस्ता कम्पनीहरूले यसमा अर्बौं लगानी गरिरहेका छन्। सन् २०२३ को अन्त्यसम्ममा १.१ ट्रिलियन डलरको बजार हिस्सा ओगटेको ई-कमर्स क्षेत्रले लजिस्टिक, डेलिभरी र वेब डेभलपमेन्टमा रोजगारी सिर्जना गरिरहेको छ।
पर्यटन र आतिथ्य सत्कार: पुनः फस्टाएको बजार
कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले पुनर्जीवन पाएको छ। हवाई यात्रा र होटल बुकिङ महामारी पूर्वकै अवस्थामा फर्किएका छन्। वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार सन् २०२३ मा मात्रै पर्यटन क्षेत्रमा २ करोड ७० लाख रोजगारी थपिएको छ। घुमघाम र खानपानका सौखिनहरू बढ्दै जाँदा यो क्षेत्र लगानीका लागि आकर्षक बनेको छ।
अनलाइन गेमिङ र सट्टेबाजी
अमेरिका लगायतका देशहरूमा कानुनी मान्यता पाएपछि अनलाइन सट्टेबाजी र गेमिङ उद्योग फस्टाएको छ। सन् २०२३ मा अमेरिकीहरूले मात्रै ११९ अर्ब डलर बराबरको बाजी (बेटिङ) राखेका थिए। यसले सफ्टवेयर डेभलपर, डाटा एनालिस्ट र डिजिटल सुरक्षाकर्मीहरूको माग बढाएको छ।
निर्माण क्षेत्र: विकासको मेरुदण्ड
आवास, सडक र पूर्वाधार निर्माण सधैं आवश्यक पर्ने क्षेत्र हो। महामारीपछि निर्माण क्षेत्रले गति लिएको छ। नवीकरणीय ऊर्जा प्लान्टदेखि स्मार्ट सिटी निर्माणसम्मका परियोजनाहरूले गर्दा प्रोजेक्ट म्यानेजर, इन्जिनियर र दक्ष कामदारहरूको अभाव खड्किन थालेको छ।
शिक्षा क्षेत्र: प्रविधिमैत्री सिकाइ
महामारीले सिकाएको अनलाइन कक्षाको अभ्यासले शिक्षा क्षेत्रको स्वरूप बदलिदिएको छ। सन् २०२८ सम्ममा अमेरिकी शिक्षा बजार १.५ ट्रिलियन डलर पुग्ने अनुमान छ। परम्परागत शिक्षकका अलावा अब अनलाइन लर्निङ प्लेटफर्म चलाउने टेक्नोलोजिस्ट र कन्टेन्ट क्रिएटरहरूको माग बढ्दो छ।
‘पेट केयर’ उद्योग: सोख र व्यवसाय
पछिल्लो समय मानिसहरूमा कुकुर/बिरालो पाल्ने सोख बढेको छ। सन् २०२३ मा मात्रै घरपालुवा जनावरको हेरचाह (पेट केयर) उद्योग ३०३ अर्ब डलर बराबरको थियो। भेटेरिनरी डाक्टर, ग्रुमिङ (सजावट), तालिम र जनावरको खाना उत्पादन गर्ने व्यवसायहरू अहिले नाफामा छन्।
स्रोतः आन्ट्रप्रेनर