दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने साढे ११ अर्ब माथि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १०.२५ अंक घटेर २६९८.४४ विन्दुमा आइपुगेको छ। नेप्से घटे पनि आइतबार कारोबार रकम भने अघिल्लो दिन भन्दा बढेको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १०.२५ अंक घटेर २६९८.४४ विन्दुमा आइपुगेको छ। 

नेप्से घटे पनि आइतबार कारोबार रकम भने अघिल्लो दिन भन्दा बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आइतबार भने ३३० स्टकको १ लाख ११ हजार ९७८ पटकको कारोबारमा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आइतबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ । यसैगरी, कालिन्चोक दर्शनको मूल्य सर्वाधिक घटेको छ। 

उक्त कम्पनीको मूल्य ८.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९८२ रूपैयाँमा झरेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.२९ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ७६९ रूपैयाँ कायम भएको छ । आइतबार सुपर मादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको प्रतिकित्ता ४८६ रूपैयाँमा ५६ करोड ३ लाख बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहको परिसूचकले बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।  यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले घटेको छ।