माई मार्टले सुरु गर्‍यो उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

कम्पनीले ‘माई मार्ट- डेलिभर्ड इन मिनेट्स’ नामक नयाँ मोबाइल एप सार्वजनिक गर्दै दैनिक उपभोग्य सामग्रीहरू द्रुत गतिमा डेलिभरी गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतको माई मार्टले उपभोक्तालाई सिधै सामान पुर्‍याउने गरी अनलाइन किनमेल सेवा सुरु गरेको छ । कम्पनीले ‘माई मार्ट- डेलिभर्ड इन मिनेट्स’ नामक नयाँ मोबाइल एप सार्वजनिक गर्दै दैनिक उपभोग्य सामग्रीहरू द्रुत गतिमा डेलिभरी गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।

डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल शैलीलाई ध्यानमा राख्दै कम्पनीले ‘डाइरेक्ट टु कन्जुमर’ मोडेल कार्यान्वयनमा ल्याएको जनाएको छ । यसअघि बिजनेस टु बिजनेस मोडेलमार्फत थोक विक्रेताका रूपमा सेवा दिँदै आएको माई मार्टले अब भने सर्वसाधारण उपभोक्तालाई समेत आफ्नो सेवामा जोडेको हो ।

माई मार्टले यो नयाँ किनमेल सेवामार्फत स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । स्वदेशी उत्पादकहरूलाई सिधै डिजिटल बजारसँग जोडेर उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन विभिन्न उत्पादकहरूसँग सहकार्य विस्तार गरिएको कम्पनीको भनाइ छ ।

यस मोडेलले रोजगारी र स्वरोजगारी सिर्जनाका साथै स्थानीय व्यवसायलाई डिजिटलाइज्ड गर्न मद्दत पुग्ने माई मार्टको विश्वास छ । यो सेवा लिन चाहने उपभोक्ताले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट माई मार्टको एप डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन् ।

आफ्नो आन्तरिक आपूर्ति प्रणाली र अर्डर म्यानेजमेन्ट सिस्टमको सफल परीक्षणपछि मात्र यो सेवा बजारमा ल्याइएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । हाल यो सेवा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध छ । कम्पनीले निकट भविष्यमै उपत्यकाबाहिरका अन्य प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ ।

२०७३ सालदेखि काठमाडौँमा थोक कारोबार गर्दै आएको माई मार्टले हालसम्म तीन हजारभन्दा बढी किराना तथा ग्रोसरी पसलहरूसँग सहकार्य गर्दै आएको छ ।