भारतमा भएको कोइलाखानी विस्फोटमा खोटाङका एकै घरका दाजुभाइको मृत्यु, अन्य ४ जना घाइते

विज्ञापन
ncell

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् ।

काठमाडौं ।  भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । 

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

वडाअध्यक्ष ढकबहादुर कार्कीका अनुसार उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर र ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर घाइते भएका छन् ।

उनीहरूमध्ये नरबहादुर र बमबहादुर गम्भीर रहेको समेत कार्कीले सुनाए । उक्त घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । विस्फोटपछि ताराबलले नै फोनमार्फत आफन्तलाई घटनाका बारेमा जानकारी गराएका हुन् ।दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको आफन्तले जनाएका छन् ।

 अवैध रूपमा सञ्चालन भइरहेको उक्त कोइला खानीमा विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । विस्फोटपछि खानीभित्र धुवाँ, विषालु ग्यास र पानी भरिएकाले उद्धार कार्य कठिन बनेको जनाइएको छ ।

मेघालयमा सर्वोच्च अदालतले ‘र्‍याट–होल’ खानी प्रणाली प्रतिबन्ध लगाए पनि दुर्गम क्षेत्रमा अवैध रूपमा खानी सञ्चालन हुने क्रम रोकिएको छैन । यसअघि पनि यस्ता खानी दुर्घटनामा कैयौँ मजदुरको ज्यान गएको छ ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । केन्द्र तथा मेघालय सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ। अवैध खानी सञ्चालनमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिइएको छ ।