निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना रहेका छन् ।

काठमाडाैँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएकाे जानकारी दिएकाे हाे । आयोगले राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उम्मेदवारहरूको नाम बन्द सूचीबाट हटाइएको जनाएको छ । 

जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना रहेका छन् । 

त्यस्तै मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना र माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना रहेको आयोगले जनाएको छ ।