२०२६ जनवरीमा पर्यटक आगमनमा १५.७ प्रतिशतको वृद्धि, एक चौथाई बढी भारतीय

विज्ञापन
ncell

जनवरीमा आएका पर्यटक आंकडा कोभिड-१९ महामारी पूर्वको भन्दा बढी हो । २०२६ जनवरीमा नेपाल भित्रिएका पर्यटकको संख्या कोभिडपूर्व सन् २०१९ जनवरीको तुलनामा १४ प्रतिशतले बढी हो ।

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार भएको छ ।

जनवरी २०२६ मा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो पर्यटक आगमन २०२५ जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।

सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत गर्दछ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा आएका पर्यटक आंकडा कोभिड-१९ महामारी पूर्वको भन्दा बढी हो । २०२६ जनवरीमा नेपाल भित्रिएका पर्यटकको संख्या कोभिडपूर्व सन् २०१९ जनवरीको तुलनामा १४ प्रतिशतले बढी हो । 

पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवद्र्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुँदा पर्यटक आगमनमा वृद्धि भएको बताइन्छ । जनवरीमा भारतीय पर्यटककै वर्चस्व देखिन्छ । २०२६ जनवरीमा भारतबाट २६ हजार ६२४ जना पर्यटक नेपाल आएका छन्, जुन कूल पर्यटक आगमनको २८.८ प्रतिशत हो । त्यसपछि बढी पर्यटक आउने मुलुकहरुमा चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) छन् ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरु (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य एसियाली देशबाट २६.१ प्रतिशतले नेपाल भ्रमणा गरेका छन् । समग्रमा दुईतिहाई पर्यटक एसिया महादेशबाट नेपाल भ्रमणमा आएका छन् । एसियापछि युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटकले नेपालको भ्रमण गरेका छन् । जनवरीमा आएका पर्यटकमध्ये मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत र अन्य क्षेत्रका ४.५ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् ।