तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५२ दिनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ ।
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ ।
यस प्रक्रियामा सहभागी हुन चाहने क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बोलपत्र स्वीकृत भएका काउन्टरपार्टीको खातामा उपकरण निष्कासन गरिने दिन पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ । राष्ट्र बैंकका अनुसार संकलित निक्षेप सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोअन्तर्गत रहनेछ र यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।