नेपाल र चीनका केन्द्रीय बैंकका गभर्नरबीच भेटवार्ता: सीमा पार भुक्तानी र लगानीका क्षेत्रमा सहकार्य हुने

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीच चीनको थियानचिनमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबिचको सीमा पार भुक्तानी लगानी अभिवृद्धि र सहयोग आदानप्रदानका क्षेत्रमा रहेका अवसर तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो । छलफलको एउटा मुख्य एजेन्डा दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज र सस्तो बनाउनु रहेको थियो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीच चीनको थियानचिनमा द्विपक्षीय भेटवार्ता भएको छ । 

बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस) द्वारा आयोजित "२०औँ एसिया–प्यासिफिक हाई–लेभल मिटिङ अन बैंकिङ सुपर भिजन" मा सहभागी हुने क्रममा उनिहरु बीच यो महत्त्वपूर्ण भेट भएको हो ।

भेटवार्ताका क्रममा दुई देशबिचको सीमा पार भुक्तानी लगानी अभिवृद्धि र सहयोग आदानप्रदानका क्षेत्रमा रहेका अवसर तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो । वित्तीय क्षेत्रमा भइरहेका नवीन अभ्यास, प्रविधि विकासबाट प्राप्त हुने लाभ र समसामयिक विषयमा द्विपक्षीय सहयोग बढाउने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । छलफलको एउटा मुख्य एजेन्डा दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज र सस्तो बनाउनु रहेको थियो । भुक्तानी प्रक्रियालाई सरल बनाउँदै लागत न्यूनीकरण गर्ने विषयमा दुवै गभर्नर सकारात्मक देखिएका छन् । 

सो अवसरमा चिनियाँ केन्द्रीय बैंकका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण र सहयोगका लागि चिनियाँ केन्द्रीय बैंक सदैव तयार रहेको धारणा राखे । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। पौडेलले दुई देशका केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको बताए। उनले यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको स्पष्ट पारे।