नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताबाट हरित अर्थतन्त्र प्रवर्द्धन आजको आवश्यकता: ऊर्जामन्त्री सिन्हा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन् । उनले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा दक्षता अभिवृद्धि, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । साथै ऊर्जा समिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा दक्षता अभिवृद्धि, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । साथै ऊर्जा समिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

मन्त्री सिन्हाले नेपाल अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र रहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

मन्त्री सिन्हाका अनुसार विद्युतीय उपकरण र सवारीसाधनमा दिइँदै आएको सहुलियत, सन् २०३५ सम्म सौर्य ऊर्जाको जडित क्षमता ५०० मेगावाट पुर्‍याउने लक्ष्य तथा हाल लागू गरिएको इथानोल मिश्रणसम्बन्धी कार्यविधि हरित ऊर्जातर्फको सरकारी प्रतिबद्धताको उदाहरण हुन्। परम्परागत भट्टीलाई विद्युतीय भट्टीमा रूपान्तरण गर्न प्रोत्साहनस्वरूप सहुलियत व्यवस्था गरिएको जानकारी पनि उनले दिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले कुल ऊर्जा खपतको करिब ६० प्रतिशत हिस्सा अझै आयातित इन्धनमा निर्भर रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन न्यूनीकरणको लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रको समन्वित प्रयास आवश्यक रहेको बताए। 

यसैगरी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकले हालसम्म नवीकरणीय स्रोतबाट १४० मेगावाट विद्युत् उत्पादन भइसकेको जानकारी दिए। आगामी दिनमा ऊर्जा उत्पादन वृद्धि गर्न २७ मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना सञ्चालनमा ल्याइँदै गरेको तथा विद्युत् खपत प्रवर्द्धनका लागि १३२ वटा चार्जिङ स्टेसन र ५१३ वटा चार्जिङ लेन स्थापना गरिएको बताए।

सिँचाइ क्षेत्रमा आयातित इन्धनको प्रयोग घटाउन चार हजार १३७ वटा सोलार पम्प जडान गरिएको विवरण पनि प्रस्तुत गरिएको थियो।