रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, पुस १७ देखि नाका पूर्ण रुपमा खुल्ने

विज्ञापन
ncell

गत असार २४ गते चीनतर्फबाट बग्ने भोटेकोशी नदी (लेन्दे खोला) मा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।

काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ ।

गत असार २४ गते चीनतर्फबाट बग्ने भोटेकोशी नदी (लेन्दे खोला) मा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो । साथै, सडक सम्पर्क समेत विच्छेद भएको थियो ।

अधिकारीका अनुसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका परिक्षणका लागि आंशिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले बाढीले क्षति पुर्‍याएको पुल भएको स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि परिक्षणका रुपमा आवतजावत सुचारू भएको हो ।

नाका आंशिक रूपमा खुले पनि मालसामान बोक्ने सवारी साधनहरूको आवतजावत १ जनवरी (पुस १७ गते)देखि मात्रै गर्ने तयारी छ । चीन र नेपाल जोड्ने मुख्य नाका रसुवागढी बन्द भएपछि अहिले चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी सरेको छ । तातोपानी नाकासमेत लामो समय बाढी र पहिरोका कारण बन्द भएका कारण व्यापार अवरुद्ध भएको थियो । जसले गर्दा चाडबाडको समयमै चीनबाट नेपाल आउने सामान रोकिएका थिए । जसका कारण व्यापारीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो ।