मितेरी डेभलपमेन्ट बैंकको मंसिर ६ गते साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

साधारणसभा तथा लाभांश वितरणका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे २०औं वार्षिक साधारणसभा डाकेको छ ।

साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक काम गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने र गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरणका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।