महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्षबीच भेटवार्ता, नेपाल–कतार संयुक्त व्यापार परिषद्को बैठक काठमाडौंमा हुने

विज्ञापन
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । 

भेटवार्तामा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । उनले जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।

जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकोले कतारी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे । ‘नेपालमा धेरै क्षेत्रमा लगानीे अवसर छ । कतारी लगानीकर्तालाई जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीका लागि आग्रह गर्दछु’, उनले भने ।

ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रुपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गरे । उनले एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्ममा ज्ञान आदानप्रदान प्रस्ताव गरे ।

सो अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । उनले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यसप्रकारका भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।

यसैबीच महासंघ अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष कतार केन्द्रित लगानी सत्र आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।