सेयर बजार ३१.१७ अंकले घट्याे, काराेबार रकममा पनि गिरावट
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचकमा गिरावट आएकाे छ ।
नेप्से अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ ।
आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको मात्र काराेबार भएको छ ।
आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत बढेको छ । त्यस्तै, आशा लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अरु बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई आज नकारात्मक सर्किट लेभलमा कारोबार भयाे ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्याे । सो कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँबराबरको सेयर कारोबार भयाे । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम २६ करोड नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशाेधन, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।