१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म सम्मानित हुनेको सूचीमा
यस वर्ष सम्मानित हुनेमा सूर्य नेपाल, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटल, आईएमई, भोटेकोशी पावर कम्पनीलगायतका प्रतिष्ठित कम्पनी तथा संस्थाहरू रहेका छन् ।
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा विभिन्न १९ विधामा सर्वाधिक कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेका हुन् ।
यस वर्ष सम्मानित हुनेमा सूर्य नेपाल, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटल, आईएमई, भोटेकोशी पावर कम्पनीलगायतका प्रतिष्ठित कम्पनी तथा संस्थाहरू रहेका छन् । व्यक्तिगत आयतर्फ भने राजबहादुर शाह सर्वाधिक आयकर दाखिला गर्ने करदाता बनेका छन् ।
सरकारले करदातालाई करप्रति जिम्मेवार बनाउन, नियमित कर दाखिलाका लागि प्रोत्साहित गर्न तथा राजस्वमा योगदान पुर्याउने व्यक्ति र संस्थाको कदर गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
नेपालमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा सरकारले २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधाको संख्या बढाएर १९ पुर्याइएको हो ।
यी हुन् १९ विधाका उत्कृष्ट करदाता
सरकारले सार्वजनिक गरेको विवरणअनुसार निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट करदाता बनेको छ ।
वस्तु निर्यात गर्ने कम्पनीतर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीतर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सम्मान प्राप्त गरेका छन् ।
कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ भने बैंकिङ क्षेत्रबाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन क्षेत्रबाट सोल्टी होटल लिमिटेडले सम्मान प्राप्त गरेका छन् ।
वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये सीजी इम्पेक्स प्रालि सर्वाधिक आयकर दाखिला गर्ने करदाता बनेको छ । वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी र १०० करोड रुपैयाँसम्म भएका करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेका छन् । व्यक्तिगत आयतर्फ राजबहादुर शाहले सबैभन्दा बढी आयकर दाखिला गरेका छन् ।
त्यस्तै, २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ ।
वार्षिक कारोबार ५० करोड रुपैयाँसम्म भएका करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सर्वाधिक आयकर दाखिला गरेको छ भने विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेको छ ।
बीमा क्षेत्रतर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएका छन् । त्यसैगरी, लघुवित्त वित्तीय संस्थातर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता बनेको छ ।