डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा नेपालले सक्रिय र महत्त्वपूर्ण सहभागिता जनाएको बताए ।

उनले करिब तीन हजार प्रतिनिधि सहभागी सम्मेलनमा आफूले नेपालको प्रतिनिधिमण्डल प्रमुखका रूपमा नीतिगत वक्तव्य प्रस्तुत गरेको जानकारी दिए । उनका अनुसार आईटीयूको प्लेनिपोटेन्सियरी सम्मेलनमा प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशको आधिकारिक नीतिगत वक्तव्य प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार नेपालले पनि दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्राथमिकता र भावी नीतिगत दिशासहितको वक्तव्य सम्मेलनमा पेस गरेको हो।

सम्मेलनले सन् २०२८ देखि २०३१ सम्मका लागि आईटीयूको नयाँ नीतिगत तथा वित्तीय दिशा तय गर्ने अपेक्षा गरिएको मन्त्री तिमिल्सिनाले बताए । प्रस्तुत नीतिगत वक्तव्यमा छलफल गर्दै सम्मेलनले आगामी चार वर्षका लागि दूरसञ्चार क्षेत्रको विश्वव्यापी प्राथमिकता र कार्यदिशा निर्धारण गर्ने उनले बताए । 

सम्मेलनमा नीतिगत छलफलसँगै उच्चस्तरीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए । आईटीयूको महासचिवमा यसअघिकै उम्मेदवार निर्वाचित भइसकेको र उपमहासचिवको निर्वाचन प्रक्रिया भने टुङ्गिन नसकेपछि जारी रहेको उनले बताए । आगामी केही दिनमा संस्थाका विभिन्न पदको निर्वाचन प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ ।

मन्त्री तिमिल्सिनाले नेपालजस्तो विकासशील तथा सीमित स्रोतसाधन भएको मुलुकका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार नेपालसँग कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटिङ तथा अत्याधुनिक प्रविधिको विकासका लागि पर्याप्त प्राविधिक क्षमता र वित्तीय स्रोत छैन । तर स्रोतसाधनको सीमितताका कारण नेपाली नागरिक नयाँ प्रविधिको विकासबाट प्राप्त हुने अवसर र लाभबाट वञ्चित हुन नहुने उनले बताए ।

उनले विकासशील तथा अल्पविकसित राष्ट्रलाई प्रविधिमा पहुँच विस्तार गर्न र डिजिटल विभाजन अन्त्य गर्न आईटीयूजस्ता अन्तर्राष्ट्रिय संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।