पुनर्वहालीको माग गर्दै सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा रहेको व्यवस्थाअनुसार कार्कीको सेवा अवधि, पदावधि र उमेर हद कुनै पनि आधारले उनलाई पदबाट हटाउन नमिल्ने जिकिर रिटमा गरिने जनाइएको छ ।

काठमाडौँ । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च अदालत जाने भएका छन् । कार्की निकट कानुन व्यवसायीका अनुसार उनलाई पदबाट हटाउने निर्णय प्रहरी ऐनविपरीत रहेको दाबी गर्दै अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरिएको हो ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा रहेको व्यवस्थाअनुसार कार्कीको सेवा अवधि, पदावधि र उमेर हद कुनै पनि आधारले उनलाई पदबाट हटाउन नमिल्ने जिकिर रिटमा गरिने जनाइएको छ ।

कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष, उमेर हद ५८ वर्ष र पदावधि चार वर्ष तोकिएको छ ।

२०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन् । उनी गत कात्तिक २७ गते प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नियुक्तिको एक वर्ष नपुग्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

कार्कीको तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।