असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिमः सतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह

विज्ञापन
ncell

मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मान्दै उनले बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति न्युनिकरणका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले बङ्गालको खाडीमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मान्दै उनले बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति न्युनिकरणका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

अध्यक्ष दाहालले मौसम विभागको पछिल्लो सूचनालाई उद्धृत गर्दै आगामी केही दिन नेपालका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेको जानकारी दिए । उत्तर अण्डमान सागरबाट विकसित उक्त मौसमी प्रणाली पश्चिम-उत्तर दिशातिर सर्दै जाँदा यसको प्रभावस्वरुप देशका शहरी तथा तराई क्षेत्रमा डुबानको समस्या र पहाडी भूभागमा भूक्षय तथा पहिरोको उच्च जोखिम देखिएको छ । 

अध्यक्ष दाहालले विशेषगरी ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरे । भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, सडक र हवाई यातायात क्षेत्रमा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै उनले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न निर्देशन दिए ।

उनले भने, ‘विगतका अनुभवले प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको देखाएको छ, त्यसैले नागरिकहरूले अत्यावश्यक बाहेकका यात्रा नगर्न र अद्यावधिक सूचनालाई पछ्याउनु आवश्यक छ ।’ उनले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई समन्वयात्मक ढङ्गले विपद् प्रतिकार्यमा जुट्न र नागरिक समाज तथा गैरसरकारी संस्थाहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन आह्वान गरे ।