भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी

विज्ञापन
ncell

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । उक्त विधेयक कोशेढुङ्गा सावित हुने उनको जिकिर छ ।

सांसद बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रस्तुत सो विधेयकले भुक्तानी तथा फस्र्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानूनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई वचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताए । विधेयकमा समावेश गरिएका सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरण लगायतका प्रावधानहरूले प्रणालीलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ ।

साथै, डिजिटल कारोबारको बढ्दो दायरासँगै साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्क सुरक्षा र प्रभावकारी नियमनलाई विधेयकले उच्च प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको उनले उल्लेख गरे ।