चालकले ज्यान जोखिममा रहेको चेतावनी दिएका थिए, राज्य रमिते बन्यो: नेकपा संसद

विज्ञापन
ncell

उनले घटना हुनुअघि नै चालकले आफूमाथि दबाब बढेको भन्दै आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भएपनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाए ।

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलवारको संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका हुन् । सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गरे । उनले घटना हुनुअघि नै चालकले आफूमाथि दबाब बढेको भन्दै आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भएपनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाए ।

उनले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको मृत्युको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाए । सांसद दुलालले सडकमा रहेका लाखौं श्रमिक र चालकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै राज्यले उनीहरूको सुरक्षा र सामाजिक सुरक्षा कोषको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी हालको झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने माग गरे । उनले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे ।