धनकुटाको विद्यालयमा शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने

विज्ञापन
ncell

काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि भएको छ ।

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा.सुनिलकुमार शर्माले धनकुटाको एउटा विधालयमा पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गरेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयमा उनले भवन निर्माण र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी उक्त रकम सहयोग गरेका हुन् ।

उनले विद्यालयको नाम आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको नाममा परिवर्तन गराउने गरी सम्झौता समेत गरेका छन् । सम्झौताअनुसार विद्यालयको नाम अब ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिनेछ । विद्यालयको नाम परिवर्तनसँगै डा.शर्माले विद्यालयको विकासका लागि तीन करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि गरेका हुन् ।

उनले विद्यालयको नाम परिवर्तनका लागि २०८२ पुस २३ गते विद्यालय व्यवस्थापन समितिमा निवेदन दिएका थिए। आवश्यक प्रक्रिया पूरा भएपछि सोमवार पाख्रीबास नगरपालिका र शर्माबीच नाम परिवर्तनसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार विद्यालयको नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँ शर्माले हस्तान्तरण समेत गरेका छन् ।

त्यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि भएको छ । सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

छात्रवृत्तिमा केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क समेटिनेछ । डा.शर्माले आफ्ना पूर्खाको नाम विद्यालयसँग जोड्ने कार्यसँगै शिक्षा र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने उद्देश्य रहेको बताए । शर्माले मोरङ, धनकुटासँगै अब हुम्लामा पनि विद्यालयमा सहयोग गर्ने जानकारी दिए ।

हुम्लाको चङ्खेलीमा रहेको विद्यालयमा सहयोग गर्नेगरी प्रक्रिया अगाडी बढाएको उनको भनाई छ । उनले धनकुटाका बासीलाई केएमसी अस्पतालमा निःशुल्क उपचारको लागि १ सय वटा कोटा छुट्याएको पनि घोषणा गरे ।

शर्माले मोरङको रतुवामाई नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गरेका थिए । सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ-होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो ।