बाढीले बगाएका 'लकर' का धनी खोज्दै प्रहरी
धनी पहिचान हुन नसकेकाले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले बताए ।
नुवाकोट । भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ ।
नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिका-१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका-३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको छ । धनी पहिचान हुन नसकेकाले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले बताए ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीमा पनि आज एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । हालसम्म उक्त लकर दाबी गर्न कोही सम्पर्कमा नआएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए । बाढीमा सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।
