सेयरको घटेको पुँजीगत लाभकर राजपत्रमा प्रकाशित, भोलिबाट नयाँ दर लागू हुने

विज्ञापन
ncell

राजपत्रमा सूचना प्रकाशित भएसँगै नयाँ करदर औपचारिक रूपमा लागू भएको छ । पुँजीगत लाभकर घटेसँगै सेयर लगानीकर्ताको करभार कम हुने र यसले बजारको कारोबार तथा लगानी गतिविधिमा समेत प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

काठमाडौं । सरकारले सेयर बजारका व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर घटाएको निर्णय औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले पुँजीगत लाभकरको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेसँगै अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ३.७५ प्रतिशत लाभकर लाग्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार ३६५ दिन वा सोभन्दा कम अवधिसम्म सेयर स्वामित्वमा राख्ने लगानीकर्तालाई अल्पकालीन र ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा राख्ने लगानीकर्तालाई दीर्घकालीन लगानीकर्ता मानिनेछ । सोही आधारमा अल्पकालीन लगानीकर्ताले ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ३।७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

यसअघि सरकारले आर्थिक ऐनमार्फत सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर बढाएको थियो । आर्थिक ऐनमा अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत लाभकरको व्यवस्था गरिएको थियो । उक्त व्यवस्था लागू भएपछि सेयर लगानीकर्ताले करको दर घटाउन माग गर्दै आएका थिए ।

सरकारले पछि मन्त्रिपरिषद्को निर्णयमार्फत बढाइएको करको दर घटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता सस्मित पोखरेलले दीर्घकालीन लगानीकर्ताका लागि ३.५ प्रतिशत लाभकर कायम हुने जानकारी दिएका थिए । तर, अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भने दीर्घकालीन लगानीकर्ताका लागि ३.७५ प्रतिशत दर कायम गरिएको छ ।

मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै पुँजीगत लाभकरको दर समायोजन गरेको हो । यससँगै आयकर ऐन, २०५८ को दफा ९५क. को उपदफा (२) को खण्ड (क) तथा अनुसूची-१ को दफा १ को उपदफा (४) को खण्ड (ख) बमोजिम लाग्ने पुँजीगत लाभकरको दर परिवर्तन गरिएको हो ।

राजपत्रमा सूचना प्रकाशित भएसँगै नयाँ करदर औपचारिक रूपमा लागू भएको छ । पुँजीगत लाभकर घटेसँगै सेयर लगानीकर्ताको करभार कम हुने र यसले बजारको कारोबार तथा लगानी गतिविधिमा समेत प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।