डेटा हबमा साइबर आक्रमण पुष्टि, पुनः सञ्चालन गर्न समय लाग्ने
डेटा हबले प्रणालीलाई पुनः अनलाइन ल्याउनुपूर्व फरेन्सिक जाँच र सुधारात्मक उपायहरू अपनाउन केही समय लाग्ने भन्दै वाईकोलाई धैर्य गर्न र नेप्सेसहित सम्बन्धित अन्य सरोकारवाला निकायहरूलाई यसबारे सूचित गर्न आग्रह गरेको छ ।
काठमाडौं । नेपालको सेयर कारोबार प्रणाली (टीएमएस) होस्ट गरिएको ‘डेटा हब’को प्राविधिक पूर्वाधारमा र्यान्समवेयर (साइबर) आक्रमण भएको छ । डेटा हबले टीएमएस व्यवस्थापन गरिरहेको वाईकोलाई पत्राचार गर्दै साइबर आक्रमण भएको बताएको हो । उक्त आक्रमणपछि सम्भावित थप जोखिम न्यूनीकरण गर्न प्रणालीलाई हाल पूर्णरूपमा ’अफलाइन’ (अलग) राखिएको डेटा हबले जनाएको छ ।
२० सेप्टेम्बर बिहान करिब ५ः३० बजे र्यान्समवेयर आक्रमण भएको पुष्टि भएको डेटा हबले जनाएको छ । डेटा हबका अनुसार आक्रमण हुनुभन्दा करिब डेढ घण्टा अघि १९ सेप्टेम्बर बिहान ४ः०० बजेसम्मको सम्पूर्ण डाटा सुरक्षित गरेको जनाएको छ । उक्त अवधिसम्मको प्रणालीको सम्पूर्ण पछिल्लो ब्याकअप लिइसकिएको जनाएको हो । ब्याकअपलाई सुरक्षित रूपमा अलग (आइसोलेट) राखिएकाले मुख्य डाटा सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ।
टीएमएस प्रणाली नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा अन्य वित्तीय प्रणालीहरूसँग प्रत्यक्ष रूपमा जोडिएकाले अन्य सञ्जालमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । घटनाको पूर्ण असर मूल्यांकन गर्न र प्रणालीलाई सुरक्षित बनाउनका लागि फरेन्सिक अनुसन्धान भइरहेको जनाएको छ ।
डेटा हबले प्रणालीलाई पुनः अनलाइन ल्याउनुपूर्व फरेन्सिक जाँच र सुधारात्मक उपायहरू अपनाउन केही समय लाग्ने भन्दै वाईकोलाई धैर्य गर्न र नेप्सेसहित सम्बन्धित अन्य सरोकारवाला निकायहरूलाई यसबारे सूचित गर्न आग्रह गरेको छ ।
