सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छः प्रदीप ज्ञवाली

विज्ञापन
ncell

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए ।

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बताए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए ।

ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको भनाई छ । उनले एमालेले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि दाबी गरे । उनले आफ्नो पार्टीसँग जोडिएका र सहकारी ठगीमा संलग्न भएको पाइएका इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीलाई कारबाही गरेको उल्लेख गरे ।

उनले कुनै राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गरेर कानुनलाई सहयोग गर्नुपर्ने बताए । तर, सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ मच्चाएको उनको आरोप छ । उनले सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उनको भनाई छ ।

सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा थप समस्या देखिएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।