रसुवागढी प्रभावित भएपछि कोरला नाकामा कन्टेनर र ईभीको चाप
रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपालमा सामान आयात गर्ने प्रमुख उत्तरी नाकामध्ये कोरला सक्रिय बनेको हो ।
मुस्ताङ । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको कोरला नाकामा पछिल्लो समय व्यापारिक चहलपहल बढेको छ । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपालमा सामान आयात गर्ने प्रमुख उत्तरी नाकामध्ये कोरला सक्रिय बनेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय, कोरला नाका तथा आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (ईभी), घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण, कपडा, जुत्तालगायत चाडपर्व लक्षित सामग्री बोकेका कन्टेनरको चाप बढेको छ ।
साउनसम्म सामान्य रहेको कोरला नाकामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि व्यापारिक गतिविधि तीव्र भएको हो । रसुवागढी भन्सार प्रभावित भएपछि चिनियाँ सामान आयातका लागि कोरला प्रमुख खुला विकल्प बनेको भन्सार कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा कोरला नाकाबाट ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको हो ।
विशेषगरी ईभी आयातमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार कार्यालयका अनुसार साउनमा १०० वटा ईभी आयात भएकोमा भदौमा यो सङ्ख्या बढेर १ हजार २२३ वटा पुगेको छ। ईभीबाट मात्रै २ अर्ब ११ करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, मालवाहक कन्टेनरको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ। साउनमा ५७ वटा कन्टेनर कोरला नाकाबाट नेपाल भित्रिएकोमा भदौमा यो सङ्ख्या बढेर ६९७ वटा पुगेको छ ।
नाकामा व्यापारिक गतिविधि बढेसँगै उपल्लो मुस्ताङको स्थानीय अर्थतन्त्रमा समेत प्रभाव परेको छ। कोरला दशगजा क्षेत्रमा रहेका स्थानीय पसलमा व्यापार बढेको छ भने चिनियाँ भन्सारबाट नेपालतर्फ आएका कन्टेनर तथा सामान ढुवानीमा मजदुर र चालकले रोजगारी पाएका छन् । कोरला हुँदै भित्रिएका ईभीलाई देशका विभिन्न सहरमा रहेका सोरुमसम्म पुर्याउने काममा चालकको व्यस्तता पनि बढेको छ ।
नाकाबाट भित्रिएका ईभी तथा अन्य सामानलाई कोरलाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपास गरिन्छ । जाँचपासपछि सामान तथा सवारीसाधनलाई करिब १८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोर हुँदै बेनी–जोमसोम–कोरला सडकखण्डबाट पोखरातर्फ लैजाने गरिएको छ ।
समुद्री सतहदेखि करिब ४ हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका लामो समय बन्द रहेको थियो। सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बती खम्पाहरूले नेपाली भूमि प्रयोग गरी विद्रोह गरेपछि नाका बन्द भएको इतिहास छ । नेपाल र चीनबीच व्यापारिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०८० कात्तिक २७ गते नाकाको औपचारिक उद्घाटन गरिएको थियो ।
गत आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि कोरला नाका व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। उक्त आर्थिक वर्षमा कोरला नाकाबाट ६ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न भन्सार प्रयोजनका लागि एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालय परिसरमा समेत करिब ३०० रोपनी जग्गा रहेको छ ।
रसुवागढी नाका बाढीबाट प्रभावित भएपछि कोरला नाकामा बढेको व्यापारिक चापले चीनसँगको उत्तरी व्यापारका लागि वैकल्पिक नाकाको महत्त्वसमेत बढाएको छ । चाडपर्व नजिकिँदै जाँदा ईभी तथा उपभोग्य सामग्री बोकेका कन्टेनरको आवागमन अझ बढ्ने देखिएको छ ।
