बीवाइडीले बाढी प्रभावितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने
चिनियाँ कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक विक्रेता साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
काठमाडौं । चिनियाँ कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक विक्रेता साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ दिने घोषणा गरेका छन् । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा बीवाइडीले उक्त रकम सहयोग गर्ने बताइएको हो ।
यो सहयोगले नेपाली जनता दुःखमा परेको अवस्थामा आफ्नो सद्भाव देखाउने बीवाईडीले बताएको छ । बीवाईडीका उपाध्यक्ष ली जुलिङले भोटेकोशी नदीमा आएको बाढीले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्नो कम्पनी पीडित र उद्धारमा खटिएको टिमको साथमा रहेको बताएका छन् ।
