साउनमा वाणिज्य बैंकहरूले कमाए ८ अर्ब ७३ करोड, नबिल सबैभन्दा अगाडि
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ ।
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् श्रावण महिनामा आफ्नो खुद नाफामा समग्र रूपमा सामान्य सकारात्मक सुधार देखाएका छन् । गत आर्थिक वर्षको साउनको तुलनामा बैंकहरुको खुद नाफा समग्रमा ४.२३ प्रतिशतले बढेको हो । तथ्यांकअनुसार साउनमा २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंकहरूले कमाएको ८ अर्ब ३८ करोड २९ लाख नाफा कमाएको थियो ।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ । नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । नबिल बैंकले ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांक छ । गत वर्षको साउनमा नबिलको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको नाफा २३.२८ प्रतिशतले बढेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकको नाफा क्रमशः ३।७० प्रतिशत र १५.८० प्रतिशतले बढेको छ ।
कुमारी बैंकले ५४ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । कुमारी र प्राइमको नाफा बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६.१५ प्रतिशतले घटेको छ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २५.९३ प्रतिशतले बढेर ४९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकले ४९ करोड २२ लाख, एनएमबि बैंकले ४७ करोड ९० लाख र सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा देखिन्छ । यद्दपि, गत वर्ष साउनको नाफा ३७ लाख रुपैयाँ मात्रै उल्लेख भएकाले बैंकको नाफा वृद्धिदर १० हजार २५४.४० प्रतिशत देखिएको छ । सानिमा बैंकको नाफा १.९१ प्रतिशतले घटेर ३८ करोड २८ लाख रुपैयाँमा झरेको छ भने प्रभु बैंकले ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुको नाफा ८.९५ प्रतिशतले बढेको छ ।
नेपाल बैंकको खुद नाफा भने ४४.१६ प्रतिशतले घटेर ३० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष साउनमा बैंकले ५५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । हिमालयन बैंकको नाफा ३३।२४ प्रतिशतले घटेर २७ करोड ३० लाख रुपैयाँमा झरेको छ । माछापुच्छ्रे बैंकको नाफा २.८५ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको नाफा ४.८४ प्रतिशतले घटेर २५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । एनआईसी एसिया बैंकको नाफा ३०.५८ प्रतिशतले घटेर २२ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा २४.९४ प्रतिशतले घटेर २० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने नेपाल एसबीआई बैंकको नाफा १०.६९ प्रतिशतले बढेर १७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
