भारतसँग आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

विज्ञापन
ncell

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।

नेपालमा हालै भएको प्राकृतिक विपद्का क्रममा भारत सरकार तथा जनताले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार अघि बढिरहेको बताए । जलवायु परिवर्तनको असर नेपालले बढी भोगिरहेको उल्लेख गर्दै उनले जलवायु न्यायको मुद्दा नेपाल र भारतले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा उठाउनुपर्ने धारणा राखे ।

अर्थमन्त्री वाग्लेले परम्परागत सहायता प्रणालीभन्दा माथि उठेर हरित वित्त, सहुलियतपूर्ण वित्तीय उपकरण तथा विकास वित्तका नयाँ आयाम परिचालन गर्नुपर्ने बताए ।

नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा घटाउन र गैरभन्सार अवरोध हटाउनुपर्नेमा पनि उनले जोड दिए । नेपालमा लगानीको वातावरण सुधारका लागि नीतिगत तथा कानुनी सुधार भइरहेकाले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतीय लगानी बढाउन उनले आग्रह गरे ।

वर्तमान सरकार सुशासन, संस्थागत सुधार र नीतिगत स्थायित्वमार्फत आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउँदै वाग्लेले पारदर्शी र जवाफदेही शासन आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे ।

कार्यक्रममा भारतीय राजनीतिज्ञ, कूटनीतिज्ञ, अर्थशास्त्री तथा रणनीतिक मामिलाका विज्ञहरूको सहभागिता थियो। छलफलमा नेपाल–भारत सम्बन्धलाई थप परिणाममुखी बनाउन सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।