ईभी दुर्घटनालाई गाडीको प्राविधिक विषयमा मात्र सीमित नराखौँ : पुकार बम

विज्ञापन
ncell

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनालाई गाडीको प्राविधिक विषयमा मात्र सीमित नराखी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनालाई गाडीको प्राविधिक विषयमा मात्र सीमित नराखी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बमले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखोलामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

दुर्घटनामा परेको ईभीका चालक २० वर्षका मात्र रहेको उल्लेख गर्दै उनले दुर्घटनाको दोष गाडीमा मात्र थोपर्नुभन्दा चालकको सीप, अनुभव, लाइसेन्स वितरण प्रणाली र नियमन पक्षलाई पनि कडाइ गर्नुपर्नेमा जोड दिए ।

उनले सार्वजनिक सवारीसाधन चलाउन अनुमतिपत्र (लाइसेन्स) दिँदा उमेरसँगै अनुभव, तालिम र नियमित दक्षता परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

सांसद बमका अनुसार ईभी प्रविधि परम्परागत सवारीसाधनभन्दा फरक हुने भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्रीको अवस्था, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी तथा आगलागी हुँदा सुरक्षित रूपमा बाहिरिने उपायबारे सरकारले नागरिकलाई शिक्षित बनाउन आवश्यक छ ।

यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक कम्पनी र प्राविधिक विज्ञहरू सम्मिलित टोली बनाएर सरल नेपाली भाषामा ‘ईभी सुरक्षा निर्देशिका’ तयार गर्न उनले सुझाव दिए ।

त्यस्तै, ड्राइभिङ लाइसेन्सको तालिममा ईभी सुरक्षासम्बन्धी छुट्टै मोड्युल समावेश गर्न र चार्जिङ स्टेसनहरूमा अनिवार्य सुरक्षा सूचना राख्न पनि उनले माग गरे ।

“प्रविधि भित्र्याउने मात्र होइन, प्रविधि प्रयोग गर्ने नागरिक र चालकलाई शिक्षित बनाउने जिम्मेवारी पनि राज्यको हो,” उनले भने ।

नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गर्दै सांसद बमले सडक दुर्घटना न्यूनीकरणका लागि ‘शून्य मृत्यु’को लक्ष्यसहित काम गर्न सरकारसँग आग्रह गरे । उनले दुर्घटनामा घाइते भएकाहरूको तत्काल उपचारका लागि ट्रमा सेन्टरहरूको विस्तार गर्नुपर्नेमा पनि जोड दिए ।